काठमाण्डाै : राष्ट्रपति रामचन्द्र पौडेलले भयरहित वातारणमा स्वतन्त्र, स्वच्छ र निष्पक्ष चुनाव हुन्छ भन्ने विश्वास राजनीतिक दल र आमनागरिकलाई गराउन सरकार र सुरक्षा निकायका प्रमुखहरूलाई आग्रह गर्नुभएको छ ।
राष्ट्रपति भवन शीतल निवासमा आज अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीसहित मन्त्रीहरूसमेतको सहभागितामा भएको छलफलमा चार वटै सुरक्षा निकायका प्रमुखहरूलाई पौडेलले यस्तो आग्रह गर्नुभएको हो । उहाँले शान्ति सुरक्षा कायम गर्न र भयरहित वातावरणमा चुनाव गराउन सुरक्षा निकायहरूलाई आग्रह गर्नुभएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो ।
छलफलमा प्रधानमन्त्री कार्कीले स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा चुनाव गराउन सरकारले कुनै कसुर बाँकी नराख्ने बताउनुभयो । सुरक्षा निकायका प्रमुखहरूले शान्ति सुरक्षा कायम गर्ने र भयरहित वातावरणमा चुनाव सम्पन्न गराउन आफूहरू सक्षम रहेको राष्ट्रपति पौडेललाई बताएका छन् ।
यसैबीच नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको चुनावमा नजाने घोषणाप्रति राष्ट्रपति रामचन्द्र पौडेलले असन्तुष्ट व्यक्त गर्नुभएको छ । आज बौद्धिक समुदायका अगुवाहरूसँग भएको छलफलका क्रममा राष्ट्रपति पौडेलले एमाले अध्यक्ष ओलीले हिजो गरेको घोषणाप्रति असन्तुष्टि व्यक्त गर्नुभएको हो ।